ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

धनगढी । ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा एक निजि अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट कात्तिक २६ गते ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले अस्पतालको सिसिटिभी फुटेजमा कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको देखिएको बताएका छन्।

महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो। दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको बताइएको छ। तिहारको बिदामा उनी धनगढी पुगेका थिए।
प्रनाउ चन्दले उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको र सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता समेत रहेका चन्दका अनुसार भण्डारीमाथि चोरी मुद्दा दर्ता भएको छ। सात दिन म्याद थप गरेर भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ।





प्रतिकृया दिनुहोस्