डोटीको ठुलीकेदार धाममा शनिवार शिव लिङ्ग यात्रा हुने

बडिकेदार (डोटी) । डोटीको दक्षिण क्षेत्रमा रहेको ठुलीकेदार धाममा शनिवार शिव लिङ्ग यात्रा हुने भएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल ठुलीकेदार धाममा शनिवार (कार्तिक २५ गते) शिव लिङ्ग यात्रा हुने भएको हो ।
ठुलीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्र राज सिराडीका अनुसार बडिकेदार गाउँपालिका- ५ अत्तरकाडा देखि ठुलीकेदार धाम सम्म १०८ शिबलिङ्ग स्थापनार्थ शिव लिङ्ग यात्रा हुने भएको हो ।
शिव लिङ्ग यात्रासंगै गोवर्द्धन पूजाको दिन ठुलीकेदार धाममा १०८ शिबलिङ्ग स्थापना गरिने समितिका कार्यकारी अधिकृत सिराडीले बताएका हुन ।
यसअघि ठुलीकेदार धामको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले १०८ शिव लिङ्ग सहितको स्वस्तिक निर्माण गर्न अभियान चलाएका थियो ।
‘यस अभियानमा जोडिएका १०८ जनासहित सबै आस्थावानहरु लाई शिव लिङ्ग यात्रामा सरिक भइदिन आग्रह गरेका छौ’, समितिका कार्यकारी अधिकृत सिराडीले भने- ‘यसपालि मङ्सिर ८, ९ र १० गते ठुलीकेदार धाममा बृहत् मेला लाग्ने भएको छ ।’
ठुलीकेदार धाममा मेला भर्न नेपालसहित भारत र अन्य मुलुकबाट समेत भक्तजन तथा पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित ठुलीकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ ।
समुद्री सतहदेखि १ हजार ८ सय मिटर उचाइमा रहेको ठुलीकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा गर्ने गरिन्छ । ठुलीकेदार धाम बोगटान फुड्सिल र बडिकेदार गाउँपालिकाको संगम स्थलका रुपमा रहेको छ ।
ठुलीकेदारको धार्मिक तथा सांस्कृतिक महत्व
सुदूरपश्चिम प्रदेशकै धार्मिक आस्थाको धरोहर रहेको प्रसिद्ध ठुलीकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । ठुलीकेदारको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको ठुलीकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ ।
किवदन्ती अनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर ठुलीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि त्यस क्षेत्रका गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन् ।
सन्तान प्राप्त नभएका तमामौँ दम्पती समेत पुत्रलाभको कामना गर्दै ठुलीकेदारमा पुग्ने गर्छन् । सन्तान नभएकालाई सन्तान लाभका साथै मनोकांक्षा पूरा हुने भएकाले स्वदेश तथा विदेशबाट समेत दर्शनार्थी आउने गर्छन् । भक्तजनहरुले जे सोचेर ठुलीकेदारको पूजाआजा गर्यो त्यो पूरा हुने धार्मिक बिश्वास रहि आएको स्थानीयहरु बताउछन् ।





लेखकको सम्वन्धमा