भूकम्प पीडितलाई बरालगाउँ समाजले गर्यो आर्थिक सहयोग संकलन

धनगढी । बरालगाउँ समाज कैलालीका सदस्यहरुले भूकम्पबाट प्रभावितका लागी आर्थिक सहयोग संकलन गरेको छ ।
शुक्रबार राति आएको भूकम्पबाट प्रभावित कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै श्री केदार भागेश्वर बरालगाउँ समाज धनगढी कैलालीका सदस्यहरुले सहयोग रकम संकलन गरेका हुन् ।
शनिबार धनगढीमा भएको प्रथम साधारण सभामा भूकम्पबाट प्रभावितहरुका लागी सहयोग स्वरुप २१ हजार ८५ रुपैयाँ संकलन गरेको बरालगाउँ समाज धनगढी कैलालीले जनाएको हो ।
सदस्यहरु बाट संकलित सहयोग रकम जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् सम्बन्धित जिल्लामा पठाइने समाजका सह सचिव पुष्पराज जोशीले बताए । उनले भने,‘समाजका सदस्यहरुले आपसमा रकम संकलन गरेर भूकम्प पीडितलाई पठाउन खोजेका छन् । संकलित रकम आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् सम्बन्धित जिल्लामा पठाइने छ ।’
आफूहरुले सामाजिक उत्तरदायित्व अन्तरगत दैवी प्रकोपका घटनामा पनि सहयोग गर्ने नीति रहेको बताउँदै समाजका संस्थापक अध्यक्ष विजयराज जोशीले भने,‘हाम्रो समाजले दैवी प्रकोपका साथै असहायलाई सहयोग गर्दै आएको छ । सोही अनुसार आज हामीले समाजका सदस्यहरु मिलेर थोरै भए पनि यो रकम संकलन गरेर जाजरकोट र रुकुम पश्चिममा पठाउने निर्णय गरेका छौँ ।’





प्रतिकृया दिनुहोस्