April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम सरकारले जाजरकोट भूकम्प प्रभावितलाई एक करोड रुपैयाँसहित स्वास्थ्यकर्मी पठाउदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

धनगढीमा शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको बताएका हुन ।

प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल एक करोड र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै पठाउनेगरी निर्णय गरेको छ ।

“सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उक्त क्षेत्रमा सहायता पुग्ने गरी तत्काल रु १ करोड रुपैयाँ र स्वास्थ्य सामाग्री सहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गर्दै थप आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,” विज्ञप्तिमा लेखिएको छ ।
 
प्रदेश सरकारले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरुको खोज, उद्धार र घाइतेहरुको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतका स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसस्था र नागरिक समाजसँग आग्रह गरेको छ ।

शुक्रबार राति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भूकम्पमा परी अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ।