आक्रमण गर्न खोजेपछि प्रहरीले काठमाडौंको गोठाटारमा गोली चलायो

काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारीलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बुधबार दिउँसो गोली प्रहार गर्नुपरेको जानकारी दिएका हुन।
लागुऔषध कारोबारीले प्रहरीलाई गोली ताकेपछि आत्मसुरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले बताएको छ। ‘लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको हो ।’ एसपी रेग्मीले भने, ‘करिमको दाहिने तीघ्रामा गोली लागेको छ ।’
दाहिने खुट्टामा गोली लागेका घाइते करिमको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनीसँगै नेपाली नागरिक झापाको कचनकबल गाउँपालिका वडा नम्बर ८ घर भएका ३७ वर्षीय हर्क लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । लिम्बु र करिम एउटै समूहका लागुऔषध कारोबारी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।





प्रतिकृया दिनुहोस्