June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

प्रिन्सिपल हत्या प्रकरण : स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध, प्रेमिकासहित ७ जना पक्राउ

बारा । प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ। प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती राधा गुप्ता सहित ७ जना छन् । राधा मदरसा टोलमै बसोबास गर्छिन्। पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन्।

राधा बाल एकता स्कुलकी पूर्वलेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रिन्सिपल स्वर्णकार विवाहित हुन्। उनका दुई छोरा छन्। केही समयअघि स्‍वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो।

भारतीय नागरिक मनोज गुप्ता पनि राधाको प्रेमी हुन्। राधा र प्रिन्सिपल स्‍वर्णकार बीचको सम्बन्ध बाहिरिएपछि मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन्।

मनोजले स्वर्णकारलाई राधाको पिछा छाड्न भनेका थिए। तर स्वर्णकार नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

प्रहरी अनुसन्धानकै क्रममा प्रिन्सिपल स्वर्णकारको यसअघि पनि हत्याको प्रयास भएको पनि खुलेको छ। प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा स्वर्णकारको हत्या प्रयास गरेको बताएका छन्। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाएका थिए।

‘साउन २८ गते पनि उनलाई कलैयाको होटेलमा गोली हान्ने प्रयास भएको थियो तर उनी उम्केर भाग्न सफल भए। त्यो घटनाबारेमा प्रिन्सिपलले प्रहरीलाई खबरै गरेनन्,’ घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘घटनाको करिब अनुसन्धान सकिएको छ। घटनामा ८ जनाको संलग्नता देखिन्छ।’

परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताए ।

एसपी काफ्लेले स्वर्णकारको हत्याका विभिन्न कारणबारे अनुसन्धान भइरहेको बताए। प्रेम सम्बन्ध एक कारण देखिए पनि अरू पनि कारण हुन सक्ने उनको भनाइ छ। अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँदै उनले पत्रकार सम्मेलन गरी थप कुरा सार्वजनिक गरिने बताए।

घटनामा संलग्न रहेका केही व्यक्तिलाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। हत्या गर्न भारतीय सुटरहरू समेत प्रयोग गरिएको आशंका छ। ‘शंकास्पद केही सुटरलाई नियन्त्रणमा लिएका छौं, भेरिफाइ गर्दैछौं,’ उनले भने, ‘पैसा के-कति दिए/नदिएको भन्ने बुझ्दैछौं।’

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। उनको उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा पोष्टमर्टम सकेपछि अन्त्येष्टि पनि गरिएको छ।