June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

प्रहरीले अझै पत्ता लगाउन सकेन हत्यारा, आमा-छोराछोरीका शव नबुझ्ने परिवारको अडान कायमै

मुगु । एकै परिवारका ४ जनाको बीभत्स हत्या भएको ४ दिन बितिसक्दा समेत हत्यारा पत्ता लगाउन सकेको छैन। मुगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ३ छोराछोरी सहित ४ जनाको एकसाथ हत्या भएको थियो।

मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यारा नभेटिँदासम्म शव नबुझ्ने अडान कायमै राखेका छन्। उनले प्रहरीले अनुसन्धानका नाममा कुकुरदेखि अनुसन्धान टोलीहरू परिचालन गरे पनि हत्यारा पत्ता लगाउन नसक्नु दु:खद भएको बताए।

शुक्रबार मुन्दुगाउँका बोहराकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो।

श्रीमतीसहित तीन सन्तान गुमाएका बोहोराले हत्यारा कानुनी कठघरामा नआएसम्म शव नबुझ्ने बताएका हुन्। उनले भने, ‘जबसम्म हत्यारा भेटिएर कानुनी कठघरामा आउँदैन तबसम्म म शवहरू बुझ्दिनँ।’

उनीहरू धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएका थिए। मृतक श्रीदेवीका माइती पक्ष र श्रीमान् दीपकले तत्काल घटनाको अनुसन्धान गरेर हत्यारा पत्ता लगाउन माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले शव पोस्टमार्टमको काम सुरु गरिएको जानकारी दिए। सामूहिक हत्या घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,उनले भने, प्रमाण जुटाएर मात्रै सत्यतथ्य सार्वजनिक गरिने छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल घटनाको अनुसन्धानमा भएको प्रगति बुझ्न आइतबार घटनास्थल पुगेका थिए। अनुसन्धानका लागि सुर्खेतबाट थप दुई सुरक्षा टोली तालिम प्राप्त कुकुरसहित मुगु पुगेको छ। 

यसअघि पटकपटक मुन्दु गाउँमा आउ/जाउ गरेका केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको अनुसन्धानमा खटिएका डीएसपी थापाले बताए। तर अनुसन्धानमा प्रयोग गरिएका कुकुरले समेत अहिलेसम्म घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न नसकिएको उनले बताए।

घटनाको प्रकृति हेरेर श्रीदेवीका गहना र मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। डीएसपी थापाले हालसम्म घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला नपरेको जानकारी दिए।

उनले भने, ‘हाम्रो टोली अनुसन्धानमै छ। हालसम्म कुनै प्रमाण फेला गरेको छैन। अनुसन्धान जारी रहेकाले प्रमाण फेला पर्नेबित्तिकै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ।’

दीपकले हत्यारा पत्ता नलागेसम्म आफ्ना श्रीमती र छोराछोरीका शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम हुन सकेको छैन। तर, प्रहरी नायब उपरीक्षक थापाले शवको पोस्टमार्टम आजै गरेको र आफन्तले शब बुझे नमानेको बताएका छन्।

यही कात्तिक ८ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि छिमेकीले १० गते बिहान ढोका खोलेर हेर्दा चारै जना बीभत्स हत्या भएको अवस्थामा भेटेका थिए। 

वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर आइपुगेपछि सोही दिन चारै जनाको शव जिल्ला अस्पताल मुगुमा ल्याइएका छन्। घटनास्थल मुगु सदरमुकाम गमगढीदेखि पूर्वतर्फ ४ घण्टा लाग्ने दूरीमा छ।