May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

इजरायलमा मारिएका दिपेश र लोकेन्द्रको महाकालीमा अन्त्येष्टि, थप विद्यार्थीको शव पहिचान

धनगढी । इजरायलमा मारिएका दुईजनाको शव महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । लेकम गाउँपालिका–५, टकनाका दिपेशराज विष्ट र मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका लोकेन्द्रसिंह धामीका महाकाली नदीमा अन्त्येष्टि गरिएको हो।

हमास समूहको आक्रमणमा परी मारिएका विष्ट र धामीको शव इजरायलबाट नेपाल ल्याई गत सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । दिपेशको कञ्चनपुरस्थित महाकाली नदीमा र लोकेन्द्रको दार्चुला उकुस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको परिवारिक स्रोतले बताएको हो ।

मृतक विष्ट र धामीको धार्मिक परम्परा अनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको परिवारजनले बताएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट दुवै जनाको शव काठमाडौँबाट गाउँसम्म ल्याइएको थियो ।

भीमदत्त नगरपालिका–१५, निम्बुखेडास्थित कान्छा बाबु पुष्पराज विष्टको निवासबाट दिपेशराजको शव यात्रा निकालिएको थियो । धामीको भने मालिकार्जुन गाउँपालिकाले पठाएको शववाहनमार्फत गाउँमै शव ल्याएर उकु चिहानमा अन्त्येष्टि गरिएको हो ।

बिएस्सी एजी अध्ययन गरेर स्वदेशमै रोजगारी गर्ने सपना बोकेका दिपेश र लोकेन्द्रको इजरायलमा मारिएको १६ औँ दिनमा महाकालीमा अन्त्येष्टि गरिएको हो ।

त्यस्तै हमासको आक्रमण परी ज्यान गुमाएका थप तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहिचान भएको हो । योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुई जनाको शव पहिचानका क्रममा छ ।

इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ । डिस्चार्ज गरिएकामध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुई जनाको इजरायलमा उपचार भइरहेको छ ।

गत २० असोजमा हमास समूहले इजरायलमा हमला गरेको थियो । सोही हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो ।

‘लन एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्न गर्न गएका सात विद्यार्थीले ज्यान गुमाएका थिए । परिवारका लागि मात्र हैन समाजका लागि समेत योगदान गर्न सक्ने क्षमता भएका युवा विद्यार्थीको मृत्युले ठुलो क्षति पुगेको छ ।