April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनका लागी उद्योग वाणिज्य महासंघले गर्‍यो सम्झौता

धनगढी। सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनका लागी नेपाल उद्योग वाणिज्य महासंघले सहकार्यसम्बन्धी सम्झौता गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धी सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी सम्मेलन आयोजना गर्न लागेको छ । प्रदेश सरकारले लगानी जुटाउने उद्देश्यले प्रदेश लगानी सम्मेलन गर्ने निर्णय गरेको हो। सोही सम्मेलनलाई सफल बनाउन काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र मुख्यमन्त्री कमलबहादुर शाहबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउने मुख्य उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्यको हात अघि बढाइएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने अभियानमा जुट्न सबै लगानीकर्ताहरुलाई मुख्यमन्त्री शाहले आह्वान गरे । सुदूरपश्चिम प्रदेश अथाह सम्भावनाको क्षेत्र भएकाले यसको समृद्धिमा सबैले साथ दिने मुख्यमन्त्री शाहको विश्वास ब्यक्त गरेका छन् ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यसम्बन्धी समझदारीपत्रलाई परिणाममुखी बनाउने गरी महासंघले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकलाई नै समृद्ध बनाउने महासंघको अभियान भएकाले सोही विषयमा सहकार्य गर्ने अवसर दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारप्रति उनले आभार व्यक्त गरे ।

द्विपक्षीय समझदारीले प्रदेश सरकारले उद्योग व्यवसायको विकास र लगानी आकर्षण गर्न आवश्यक नीति नियमको निर्माणको साथै लगानी प्रकृयालाई सरल बनाई निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्ने बताइएको छ।

त्यस्तै निजी क्षेत्रको लगानी, उत्पादन, पूर्वाधार निर्माण र रोजगारी अभिवृद्धि गर्न उद्योग, व्यापार तथा व्यवसायसँग सम्बन्धित प्रचलित नीतिगत, कानूनी एवं प्रकृयागत व्यवस्थामा समय सापेक्ष सुधारको लागि सुझाव तयार गरी महासंघले प्रदेश सरकार समक्ष सुझाव पेश गर्ने पनि समझदारीमा उल्लेख छ।

प्रदेश सरकारले निजी क्षेत्रसँगको सल्लाह र सहकार्यका लागि लगानीका क्षेत्र पहिचान र सो सम्बन्धी रणनीति तयार गर्ने, व्यवसायमैत्री वातावरण निर्माण तथा व्यवसायको लागत न्यूनीकरणका लागि आवश्यक व्यवस्था मिलाउनेलगायत पनि समझदारीमा समेटिएको छ।

यसैगरी प्रदेश सरकारले प्रदेशभित्र लगानी आकर्षण गर्न विशेष सुविधा प्याकेज घोषणा गरी लगानी आकर्षण र निजी क्षेत्रको प्रवर्द्धनसँग सम्बन्धित नीति नियमको व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक गर्ने द्विपक्षीय समझदारीमा उल्लेख छ।

सम्मेलन आयोजना गर्न आवश्यक बजेटबारे आवश्यक छलफल गरी तय गरिनेछ, सम्मेलन आयोजना गर्ने स्थान आपसी सहमतिमा तय गरिनेछ भने सहभागी जुटाउने तथा प्रचार प्रसार गर्ने काममा महासंघले सहयोग गर्ने बताइएको छ।

लगानी तथा विकास सम्मेलन मूल आयोजक समिति, सल्लाहकार समिति, कार्यकारी समिति लगायतमा महासंघको प्रतिनिधित्व रहने छ।

लगानी प्रवर्द्धन तथा विकाससम्बन्धी अन्य आवश्यक कार्य तथा नीतिगत व्यवस्थाका सम्बन्धमा कार्यकारी समितिले आवश्यक निर्णय पनि बताइएको छ।

1-1697890258.jpg
2-1697890257.jpg