सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ । प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिममा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको बताएका हुन् ।
सम्मेलन आयोजना गर्न मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा आयोजक मूल समिति गठन गरिएको उनले जानकारी दिए । मूल समितिमा संघीय संसदका सांसदहरू, प्रदेशका मन्त्रीहरू, प्रदेश सभाका सभामुख उपसभामुख, प्रदेश सभा सदस्यहरू रहेका छन् ।
सम्मेलन आयोजनाका लागि अन्य तीन वटा समिति पनि गठन गरिएका छन् । प्रतिनिधिसभा सदस्य आरजु राणा संयोजक रहेको सल्लाहकार समिति, प्रदेश मन्त्री प्रकाश देउवा संयोजक रहेको निर्देशक समिति र आर्थिक मामिला मन्त्री नरेशकुमार शाही संयोजक रहेको कार्यकारी समितिसमेत गठन गरिएको छ । आवश्यकता अनुसार थप समिति र उपसमितिहरूसमेत गठन गरिने भएको छ ।
सरकारले आधार पत्र तयार गरेर सम्मेलनमा स्वदेश र विदेशमा रहेका लगानीकर्ताहरूलाई सहभागी गराउने र लगानी प्रतिवद्धता लिने निर्णय गरिएको मन्त्री शाहीले बताएका छन् ।
प्रतिकृया दिनुहोस्