April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधानमन्त्री प्रचण्डले भने- एमालेभित्र पहिलोपटक ठूल्ठूला चिरा परेको छ

धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र पहिलोपटक ठूल्ठूला चिरा परेको बताएका छन् । धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेभित्र पहिलोपटक ठूला चिरा परेको बताएका हुन ।

“पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,” उनले भने, “अब कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो बुझिसाध्य छैन ।”

प्रधानमन्त्री प्रचण्डले भने- “कोशीमा देखिइहाल्नुभयो। कोशीमा दुई गठबन्धन बने। हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को, लाजमर्दो। यसलाई के गरी हल गर्ने भनेर म, देउवा र शेखर बसेर गठबन्धनमा दृढ छौं, कमजोर पार्न दिने छैनौं भनेर हस्ताक्षर गरियो। यति गरेपछि एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त हिजो फेरि अर्को चलखेल भयो।”

‘एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो। हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि कांग्रेसको एक मात्रै मन्त्री बनाउने भनेको त फेरि एमालेको मन्त्री त्यहाँ छिराइहालेछन्,’ उनले भने।

उनले विश्वासको मत लिनुअघि कांग्रेसको मात्रै मन्त्री बन्ने सहमति भए पनि एमालेले मन्त्री पठाएकोमा आपत्ति जनाए । “हामीले विश्वासको मत लिनुअघि कांग्रेसबाट एउटा मात्रै मन्त्री बनाउने भनेका थियौँ । फेरि एमालेको पनि त्यहाँ छिराइहालेछन्,” उनले भने- त्यसलाई करेक्सन गर्ने र यही गठबन्धनले जित्ने दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले ५४ सिट रहेको मोर्चालाई संसदीय राजनीति सहज नभएको स्वीकारे गरे । “हामी मिल्दा पनि ५४ हो । नेपाली कांग्रेस एक्लै झन्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । साथीहरु कहिलेकाँही बेस्सरी ठोक्नुस् भन्नुहुन्छ,” उनले भने, “परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने त आफैं ठक्कर खान्छ नि ।”

आफूहरू रहेको गठबन्धनलाई भत्काउन पटक-पटक चलखेल भए पनि परास्त गरिएको उनले दाबी गरेका थिए। ‘पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हेलाउन सक्दैन। चलखेल गर्नेहरू सफल हुँदैनन्,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडक संघर्ष चर्काउने बताए । छिट्टै मोर्चाको बैठक बसेर समीक्षा गरी संघर्षका लागि जनपरिचालन गर्ने उनले चेतावनी समेत दिए ।

“मदेसदेखि सुदूरपश्चिमसम्म भएका सन्देशसभा रियल्सन मात्र हो । छिट्टै मोर्चाको बैठक बसेर अहिलेसम्म भएका कामको समीक्षा गर्छौँ । म चाहन्छु प्रतिक्रान्तिकारीको विरुद्ध देशभर ठूला सहरमा जनपरिचालन तुरुन्त गर्न जरुरी छ”, चुनौती दिँदै उनले भने, “परिवर्तन विरोधी, स्वैच्छाचारी, अराजकतावादीहरू सडकमा आएर क्रान्तिकारी र परिवर्तनकारीलाई चुनौती दिएका छन् । तीनका विरुद्ध लाखौं जनता र कार्यकर्ता सडकमा ल्याएर चुनौती दिन जरुरी छ ।”

जनपरिचालनको कार्यक्रम बनाउन लागेको जानकारी दिँदै उनले त्यसकै नेता कार्यक्रर्तालाई तयारीमा जुट्न आग्रह गरे ।