समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा गर्ने

धनगढी। चार दल आवद्ध समाजवादी मोर्चाले आज सुदूरपश्चिम प्रदेश स्तरीय सन्देश सभा गर्ने भएको छ। नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले आज सुदूरपश्चिममा सन्देश सभा गर्ने भएको हो ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा दिउँसो २ बजेपछि सुरु हुने सन्देश सभालाई मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन्।
सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।
समाजवादी मोर्चाले गएको भदौ १३ गतेदेखि देशभर प्रदेश स्तरीय सभा गर्दै आएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सभा सकेको मोर्चाले आज सुदूरपश्चिममा सभा गर्न लागेको हो। गत भदौ १३ र २६ गते दुई पटक स्थगित भएको सुदूरपश्चिम सन्देश सभा आज हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डले आजै कैलालीको लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ।





प्रतिकृया दिनुहोस्