April 18, 2026, Saturday
२०८३ बैशाख ५

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागी ४ जनाको उम्मेदवारी दर्ता, सिंहबाहेक तीनै जना अछामका

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षका लागी ४ जनाको उम्मेदवारी दर्ता गरेका छन्। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशनमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन्।

सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय जैसी, साउद र सिंहले उम्मेदवारी दर्ता गराएको निवाचन समितिले जनाएको हो । उनीहरूमध्ये सिंहबाहेक अरु तीनै जना अछामका हुन् भने सिंह कञ्चनपुरका हुन्।

त्यस्तै उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जनाको उम्मेदवारी परेको छ । ९ जना उम्मेदवारमध्य ३ जना महिला छन् । उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ ।

सचिवमा रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बमको उम्मेदवारी परेको छ भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकला कुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। प्रमुख निर्वाचन अधिकृत पदम पालले साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।

निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।