April 18, 2026, Saturday
२०८३ बैशाख ५

इजरायलमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

धनगढी । इजरायलमा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने निर्णय गरेको छ । प्रदेश सरकारले इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका विद्यार्थीका परिवारलाई दुई लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप दुई लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शाहले तत्काल शव नेपाल ल्याउन र घाइतेको उपचार तथा उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि नेपाल सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सोमबार बसेको मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ । 

यस्तै मृतकहरुको शव  यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।
प्रेस-विज्ञप्ती-1696902101.jpeg