April 18, 2026, Saturday
२०८३ बैशाख ५

एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु, गृहप्रदेशकै अधिवेशनमा देखिएनन् भीम रावल

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु भएको छ । धनगढीमा भईरहेको प्रथम अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् ।

अधिवेशनमा एमालेका शीर्ष नेतादेखि स्थानीय नेता कार्यकर्ता सहभागी छन्। तर एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल आफ्नै पार्टीको प्रदेश अधिवेशनमा सहभागी भएका छैनन्। अधिवेशनमा सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र नेता कर्ण थापा भने सहभागि रहेका छन्।

गृहप्रदेश सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेता रावललाई उपेक्षा गरिएको उनि निकट नेताहरुले बताएका छन्।

नेताहरुका अनुसार हाल रावल गृहजिल्ला अछाममा रहेका छन्। अधिवेशनमा निम्तो नगरिएकाले कार्यक्रममा सहभागी नभएको रावल निकट नेताहरूको भनाइ छ।

‘रावल कमरेडलाई निम्तो गरिएन, त्यसैले उहाँ अधिवेशनमा सहभागी हुनुभएको छैन,’ रावल निकट एक नेताले भने, ‘पार्टी पङ्क्तिबाट अधिवेशनका लागि रावललाई पनि आमन्त्रण गर्नुपर्थ्यो, यो अन्याय भएको छ, यसमा हाम्रो आपत्ति छ।’

दशौँ अधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल गृहप्रदेशकै अधिवेशनमा निम्तो नगरिएकै कारण सहभागी नभएको बताइएको छ। गत निर्वाचनमा अध्यक्ष ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन्।

प्रदेश कमिटिको नेतृत्व चयनका लागि नौवटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि रहेका छन्। अधिवेशनका लागि सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट रहेको जनाएको छ। दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट एक सय २८ जना प्रतिनिधि चयन भएका आएका छन्। १३ वटा स्थानीय तह रहेको कैलालीबाट बाजुराभन्दा कम १ सय १७ जना प्रतिनिधिमात्र छन् ।

त्यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेलधुराबाट १८ जना प्रतिनिधि रहेका अधिवेशन आयोजक कमिटिले जनाएको छ। त्यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ। कूल प्रतिनिधि संख्यामा एक सय ७८ जना महिला रहेका छन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म तीन जनाले अध्यक्षको पदमा आफ्नो दाबी सार्वजनिक गरेका छन्। कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन्। जैसी र तिमिल्सिना अछामका हुन् भने सिंह कञ्चनपुरका हुन्।