सुदूरपश्चिम प्रदेश सरकारले गर्यो भूकम्पमा परी घाइतेको निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पमा परी घाइते भएकाहरुको औषधोपचार, क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ । हिजो दिउँसो बझाङको तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई प्रदेश सरकारले औषधोपचार, क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षता आज बसेको सर्वपक्षीय छलफलको निष्कर्ष अनुसार घाइतेको उपचार, उद्धार, खोज तथा प्रभावितहरूलाई आवश्यक राहत सामग्री एकद्वार प्रणालीमा वितरण गरिने भएको छ ।
बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो । उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले भने, ‘भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने र क्षतिपूर्ति दिने निर्णय भएको छ । सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने छ ।’
मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको छलफलमा, सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, राज्यमन्त्री गीतादेवी माल, प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, नेपाली सेनाका सुदूरपश्चिम पृतनापति, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, संयुक्त राष्ट्र सङ्घीय विकास साझेदार संस्था विश्व खाद्य संगठन, स्वास्थ्य संगठन र नेपाल रेडक्रस सोसाइटी र प्रदेशमा क्रियाशील गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
घाइतेहरुको तदारुकताका साथ उपचार गर्ने, क्षति भएका भौतिक संरचनाको क्षतिको एकिन विवरण सकलन गर्ने, सुख्खा पहिरो गएर अबरुद्ध भएको सडक तत्काल संचालनमा ल्याउन तथा पीडितहरुलाई क्षतिपूर्ति र राहतको उचित व्यवस्थापन गर्न, भत्किएका घरहरुका मानिसहरुलाई तत्काल खान , बस्न र पुनर्स्थापना गर्न तदारुकताका साथ लाग्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्री धामीले बताए ।
भूकम्पका कारण मंगलवार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भुकम्प जाँदा १ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । साथै खोज, उद्धार र राहत वितरणको सम्पूर्ण जिम्मेवारी पनि प्रदेश सरकारले लिने मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।
ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका-११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् भने १८ जना घाइते भएका छन् । अछाममा पाँच जना, र बैतडी तथा बाजुरामा समान २/२ जना घाइते भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
यस्तै बझाङमा एकसय ३५ संरचनामा क्षति पुगेको छ । थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति पुगेको छ भने जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्याल्य बझाङले जनाएको छ ।





प्रतिकृया दिनुहोस्