बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भूकम्पको धक्का दिल्लीसम्म

धनगढी । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएको जानकारी अनुसार आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै आधिकारकि विवरण प्राप्त भइसकेको छैन । अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ।
भूकम्पले बझाङका धेरै ठाउमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको बिभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्द भएको छ । यस्तै बझाङमा अहिले फोन नेटवर्कले पनि काम गरिरहेको छैन ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले अहिलेसम्म मानवीय क्षति भएकोबारे औपचारिक जानकारी नरहेको बताए । ‘खोड्पे-चैनपुर सडकको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को कचरी खोलामा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘मानवीय संकटको अवस्था भएको जानकारी आएको छैन । हामी तैनाथ छौं । अहिलेसम्म परिचालन गर्नुपर्ने अवस्था आएको छैन ,’ उनले भने ।
उद्दारका लागि तीन वटै सुरक्षा निकाय तैनाथ रहेको पाण्डेयको भनाइ छ ।
भूकम्पको धक्का कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत महसुस भएको छ । भूकम्पको धक्का नयाँ दिल्लीसम्म पुगेको छ । दिल्लीसहित त्यस वरपर भूकम्पको झड्का महसुस भएको आजतकले जनाएको छ ।
समाचारअनुसार भूकम्पको झड्काका कारण नयाँ दिल्लीमा धेरैबेर हल्लाएको थियो । भारतीय नेशनल सेन्टर फर सिस्मोलोजीले भने नेपालमा ६.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।





प्रतिकृया दिनुहोस्