April 18, 2026, Saturday
२०८३ बैशाख ५

नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षक शाहविरुद्ध मुद्दा दायर

धनगढी । नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीमा कारर्यरत शिक्षक महेश शाहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कारर्यरत शाहमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । प्रवक्ता दाहालले सो निवेदनमाथि अनुसन्धान हुँदा शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको बताए ।

शाहले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको पुष्टि भएको बताए।

सोही आधारमा शिक्षक शाहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले बताएका छन् ।