सुदूरपश्चिम प्रदेशमा १५ हजार कुकुरलाई रेविजविरुद्धको खोप लगाइयो

धनगढी । सुदूरपश्चिम प्रदेशमा १५ हजार कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ । विश्व रेबिज दिवसको अवसरमा सुरु भएको साताव्यापी अभियानअन्तर्गत प्रदेशका ९ जिल्लामा १५ हजार सामुदायिक र घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको हो ।
असोज ५ गतेदेखि साताव्यापी रेबिज विरुद्धको खोप लगाउने र शिक्षण संस्थामा रेबिज रोगबारे जानकारी गराउन स्कुल शिक्षाको कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेशप्रसाद जोशीका अनुसार तराईका कैलााली र कञ्चनपुरसमेत गरि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा पनि खोप अभियान सञ्चालन गरिएको थियो ।
‘सबैभन्दा बढी कैलालीमा ५ हजार सामुदायिक र घरपालुवा कुकुरलाइ रेबिजविरुद्धको खोप लगाइएको छ,’ पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. जोशीले भने, ‘तराईका कैलााली र कञ्चनपुरलागायत सुदूरपश्चिमका ७ पहाडी जिल्लामा पनि खोप अभियान सञ्चालन गरिएको थियो । पहाडी जिल्लामध्ये डडेलधुराको भित्रिमधेश क्षेत्रमा २ हजार बढी कुकुरलाई खोप लगाइएको छ ।’
डा. जोशीका अनुसार खोप अभियानमा सुदूरका विभिन्न जिल्लाका भेटेरिनरी डाक्टर र प्राविधिकहरु खटिएका थिए । रेबिजविरुद्धको खोप अभियानका लागि नेपालमै उत्पादित १० हजार डोज रेबिज भ्याक्सिन पशु सेवा विभागमार्फत पशुपन्छी अन्वेषण प्रयोगशालालाई प्राप्त भएको उनले जानकारी दिए । थप ५ हजार डोज भने प्रदेश सरकार तथा स्थानीय तहले खरिद गरी माग र आवश्यकता अनुसार उपलब्ध गराएको थियो ।
नेपालमा हालसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा रेबिज रोगको प्रकोप बढ्दै गएको देखिन्छ । सुदूरुपश्चिममा ४० प्रतिशत भन्दा बढी रेबिजको आउट ब्रेक रहेको डा. जोशीले बताए । डा. जोशीले भने, ‘स्कुले विद्यार्थी झनै जोखिममा रहन्छन्, साना बालबालिकाहरुलाई छाडा सामुदायिक कुकुरले टोक्ने र रेबिज संक्रमण हुने खतरा रहन्छ । संक्रमण रोकथामका लागि विभिन्न जिल्लामा रेबिज रोगविरुद्ध स्कुल शिक्षा पनि कार्यक्रम सञ्चालन गरिएको थियो ।





प्रतिकृया दिनुहोस्