April 18, 2026, Saturday
२०८३ बैशाख ५

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष बडुवालको निधन

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ। उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बडुवालको बाटोमै निधन भएको हो ।

पार्टीद्वारा सञ्चालित ३ महिने रूपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवालको स्वास्थ्यमा समस्या देखिएको थियो। गृह जिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदा पनि निको नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ।

जनयुद्धको बेला महेश उपनामले चिनिने उनी सुर्खेत जेल ब्रेक गरेर बाहिरिएका थिए । पछिल्लो समय बडुवाल निमोनियाबाट पीडित थिए ।

जनतासँग माओवादी अभियानका क्रममा डोटीमा रहदाँ बडुवालको स्वास्थ्यमा समस्या बढेपछि कैलालीमा सामान्य उपचार गरेका थिए । निकै सारो भएपछि लखनउ लैजाने क्रममा बाटोमै निधन भएको हो ।

निमोनियाले गलाउँदै लगेपछि बडुवाललाई काठमाडौंमा उपचार गर्न ल्याउने प्रयास पनि असफल भएको थियो । बिरामीलाई जहाजबाट ल्याउन कर्मचारीले खतरा देखाएपछि उनलाई स्थल मार्गबाट लखनउ लगेको बताइएको छ ।

स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउन खोजिए पनि सम्भव नभएपछि लखनउतर्फ लगिएको थियो ।

माओवादीका धेरै केन्द्रीय नेता र मन्त्रीहरूलाई भन्दा पनि हेलिकोप्टरको व्यवस्था हुन नसकेका कारण एकजना नेताको उपचार नपाएर निधन भएको स्थानीय माओवादी कार्यकर्ताहरूको गुनासो छ ।

हेलिकोप्टरका लागि गृह मन्त्रालयदेखि माओवादीका पहुँचवाला नेतालाई भन्दा पनि बेवास्ता गरेको माओवादी कार्यकर्ता आरोप छ ।

२०७१ सालमा भएको बस दुर्घटनामा बडुवालले आफ्नी श्रीमती र १ जना छोरा गुमाएका थिए। दुःखद संयोग मान्नुपर्छ ठिक ९ वर्षअघि असोज महिनामै डोटीको कटकटेमा भएको बस दुर्घटनामा बडुवालले पत्नी र एक छोरा गुमाएका थिए । सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६४ जना घाइते भएका थिए ।