April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई युवक देवघाटमा बेपत्ता

धनगढी । देवघाटमा नुहाउने क्रममा दुई जना युवा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा बेपत्ता भएका हुन।

धनगढी उपमहानगरपालिका र सोही उपमहानगरपालिकामा रहेको लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा गएका युवा बिहीबार बिहान ७स्३० बजे बेपत्ता भएका हुन्। उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि आइतवार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको थियो।

भारतको आसाम घर भई लक्ष्मी नारायण मन्दिरमा संस्कृत पढ्दै आएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १७ वर्षीय पंकज दाहाल नुहाउनेक्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पन्डितले जानकारी दिए। 

नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर दुबै जना बेपत्ता भएका भए पनि अन्य तीर्थालुहरू भने सकुशल रहेको उनले बताए। पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको पन्डितले बताए। दुबै जनाको प्रहरी टोलीबाट खोजी भइरहेको बताइएको छ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापनमा खट्ने प्रहरीसहितको टोलीले खोजी गरिरहेको उनले बताए।