April 18, 2026, Saturday
२०८३ बैशाख ५

अविरल वर्षाका कारण धनगढी डुबानमा, सेती प्रादेशिक अस्पतालको वार्ड जलमग्न

धनगढी । अविरल वर्षाका कारण धनगढी डुबानमा परेको छ । आइतबार राति परेको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका हुन् ।

पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको बताए ।

अस्पतालका प्रसूति वार्ड, अप्रेसन वार्ड लगायतमा पानी भरिएको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ । एकै दिनको वर्षाका कारण अस्पतालमा पानी भरिएको हो ।