नगद घुससहित सहायक बन अधिकृत गिरिलाई उपभोक्ताले लिए नियन्त्रणमा

डोटी । नगद घुससहित एक सहायक बन अधिकृतलाई उपभोक्ताले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक बन अधिकृत भक्तराज गिरिलाई बिहीबार ५ हजार नगद घुससहित नियन्त्रणमा लिई प्रहरीलाई ब्झाएका हुन ।
प्रहरीका अनुसार जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले सहायक वन अधिकृत गिरिलाई रंगेहात नियन्त्रणमा लिएका थिए।
स्थानीय उपभोक्ताहरूले सहायक वन अधिकृत गिरिलाई घुससहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका हुन्। आबादी जमिनको दाउराका लागि छुट पुर्जी दिन घुस माग्न थालेपछि वन अधिकृतलाइ प्रमाणसहित पक्राउ गरिएको स्थानीयले बताए।
सहायक बन अधिकृत गिरीले छुट पुर्जीका लागि सुरुमा १० हजार नगद मागेको गणेश भण्डारीको आरोप छ। ‘सो रकमले पनि छुट पुर्जी नदिएर सताउन थालेपछि बिहीबार बिहान ५ हजार बोकेर लगे’, भण्डारीले भने,‘जिल्लामा डेढ/दुई लाख दिएर पुर्जी माग्ने हामीलाई १०/१५ हजारमा भुलाउने भन्दै आएका थिए । आबादीमा रहेको दाउरालाई छुट पुर्जी माग्न पनि घुस माग्न थालेपछि रंगेहात पक्राउ गरेको हुँ ।’
भण्डारीसँगै विभिन्न सामुदायिक बनका उपभोक्ता समेत भ्रष्ट कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै इलाका प्रहरी कार्यालय बुडर पुएका थिए। बन अधिकृत गिरीले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । सो घटना सम्बन्धमा प्रहरी कार्यालयमा छलफलमै रहेकाले पछि मात्र प्रतिक्रिया दिने भन्दै गिरी पन्छिन खोजे । हालै मात्र सरुवा भई आएका जिल्ला बन अधिकृत गोकुल रिजालसंग घटनाबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
इलाका प्रहरी कार्यालय बुडरका प्रहरी साहयक निरिक्षक (सई) हरिभानसिंह साउँदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृतमा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारीमार्फत जानकारी लिन सक्ने बताए।





प्रतिकृया दिनुहोस्