भीमदत्त राजमार्ग अझै खुलेन, सुदूरपश्चिम प्रदेशका ७ जिल्ला प्रभावित

धनगढी । अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । कैलालीको गोदावरी नगरपालिका ४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।
डिभिजन सडक कार्यालयले पहिरो पन्छाउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको बताएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको बताएका हुन ।
डिभिजन प्रमुख सुवेदीले सडक भासिएकै क्षेत्रमा मंगलबार राति पनि पहिरो आएको र बुधबार बिहानैदेखि पुनस् पन्छाउन थालिएको जानकारी दिएका छन् ।
उनले बुधबार साँझसम्म एकतर्फी भए पनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने केही समस्या हुने छ । सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।
यसैबीच मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो गएको राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । मुख्यमन्त्री शाहले निरीक्षण गर्दै पहिरो पन्छाएर राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन निर्देशन दिएका छन् ।





प्रतिकृया दिनुहोस्