April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीको भजनी नगरपालिका भयो जलमग्न, हजारौँ घर विस्थापित

धनगढी । कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीका कारण हजारौँ घर विस्थापित भएका छन् । गएको सोमबारदेखि परेको अविरल वर्षाले कारण भजनी नगरपालिका जलमग्न भएको हो ।

बाढीको उच्च जोखिममा रहँदै आएको भजनी नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार भन्दा बढी नगरवासी प्रभावित भएका छन् । भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको जानकारी दिएका छन् ।

हालसम्म भजनी नगरपालिकामा एक हजार बढी घरधुरी प्रभावित भएका छन् । उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए ।

नगर प्रवक्ता चौधरीले भने, ‘कोही सेफ हाउसमा जानुभएको छ । कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएको छ । यो क्रम बढ्दो छ । हामी तथ्याङ्क लिने क्रम पनि जारी राखेका छौ ।’

यसैबीच उनले उद्धारमा र राहत सहयोगमा कुनै निकायले सहयोग नगरेको बताए । नगरपालिकाका कै सीमित साधन स्रोतबाट रातदिन नभनी काम जारी राखेको बताउँदै अन्य निकायबाट सहयोगको अपिल समेत गरेका छन् ।

भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ ।