देशभर भारी वर्षा : बाढीमा फसेका ६ जनाको उद्धार, भिमदत्त राजमार्ग पहिरोले अवरुद्ध

धनगढी । देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रसंगै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा हुदाँ नदीहरूमा पानीको बहाव बढेको छ ।
कैलालीको गोदावरी नदीमा बाढी आउदा फसेका ६ जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार गोदावरी नदीमा राति एक्कासि बाढी आएको थियो। राति साढे १० बजेको समयमा आएको बाढीका कारण तटीय क्षेत्रमा बस्दै आएकाहरू बाढीको चपेटामा परेका हुन।
नदीको दुई भँगालाको बीचमा अड्एिकाहरूलाई करिब ११ बजे उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीले जानकारी दिएका छन्। नदीमा फसेकाहरूको सकुशल उद्धार गरिएकाले मानवीय क्षती नभएको प्रहरीले बताएको छ।
त्यस्तै कैलारी गाउँपालिकाका झण्डै ढाई सय घरमा पानि पसेको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण कैलारीका विभिन्न बस्तीका झण्डै दुई सय ५० घरमा पानि पसेको हो ।
कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमका अनुसार कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका वस्तीमा पानि पसि दुई सय ५० घरपरिवार विस्थापित भएका छन् । डुवान भएका वस्तीका बासिन्दा अहिले विद्यालयमा बसीरहेको छन् ।
पछिल्लो २४ घण्टामा धनगढी एयरपोर्टमा शून्य दशमलब २ मिलिलिटर वर्षा भएको छ भने टीकापुरमा एक सय सात मिलिलिटर वर्षा भएको छ । कैलालीको कार्णाली नदीको वहाव बढ्दै गएको छ भने अन्य सहायक नदी तथा मोहना नदीको बहाव स्थिर रहेको छ ।
कर्णाली नदीको बहाव अहिले सात दशमलब ८६ मिटर पुगेको छ । सो नदीको बहाव १० मिटर पुगेमा सर्तकता तह र १० दशमलब आठ मिटर पुगेमा खतरा तह पार मानिने छ । विहान आठ बजेसम्म बर्दिया, सुर्खेत, रौतहट, मकवानपुर, ललितपुर लगायतमा भारी वर्षाका साथै नदी सतह बढेर खतरा तह पार गरेको छ ।
कैलालीका सहायक नदी स्थिर भएपनि मंगलबार पनि कैलालीसहित सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।
नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
‘हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्कीएर अवरुद्ध भएको छ । गतरातीको लगायता बर्षले कालोपत्रे सडक भत्कीएको छ भने धेरै ठाउँमा पहिरो गएको यात्रु नरेन्द्र भण्डारीले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चनपुर र काठमाण्डौ जाने यातायातका सधान बाटोमै रोकिएका छन् ।
हजारौ यात्रुहरु बिचबाटोमै अलपत्र परेको भण्डारीले बताए । धेरै ठाउँमा पहिरो गएर सडक नै भासिएकाले सुचारु हुन केही दिन लाग्न सक्ने देखिएको छ।





प्रतिकृया दिनुहोस्