April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीको गोदावरी नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गर्‍यो

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । आजदेखी गोदावरी नगरपालिका–२ मा निर्माण गरिएको भवनबाट नागरिकलाई सेवा दिन सुरु गरेको हो।

नयाँ निर्माण गरिएको भवनमा सेवा सुरु गर्नका लागि अधिकांस शाखाका सामानहरु नयाँ भवनमा सार्ने काम गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले जानकारी दिएका हुन्।

नगरपालिकाले साउन भित्रै नयाँ भवनबाट सेवा सूचारु गर्ने भनेर यसअघि नै असार २८ गते पुजा गरेको थियो। एशियाली विकास बैंक (एडीवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवन निर्माण गरेको हो।

भवन निर्माणमा १० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँ खर्च भएको छ। नगरपालिकाको भवन निर्माण ठेक्का मार्फत गरिएको हो। काम सकिएको भएपनि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले नगरपालिकालाई हस्तान्तरण गर्न भने बाँकी रहेको छ।

नयाँ भवनमा विद्युत लाईनमा केही समस्या देखिएकाले काम गर्न केही समस्या भएपनि मर्मतको काम जारी रहेको प्रशासकीय अधिकृत भाटले बताएका छन्।