April 18, 2026, Saturday
२०८३ बैशाख ५

आठ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउदै, नागरिक उन्मुक्ति पार्टी सरकारमा जान सहमत

धनगढी । निर्वाचन भएको आठ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत भएसंगै सरकारले पूर्णता पाउने भएको हो ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका नेताहरु बीच सोमबार र मंगलबारगरी दुई पटक भएको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकार जान सहमत भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले छलफलपछि भने, ‘हामीबीच सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ । बिहीबार सरकारले पूर्णता पाउँछ ।’

नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको छ । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा ४ वटा संसदीय समिति रहेको छ । भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । भने, सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । जसअनुसार बाँकी सांसदलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज (मंगलबार) सत्ता गठबन्धनको बैठक बोलाएर सरकारलाई पूर्णता दिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत सहभागी रहेका थिए।