April 18, 2026, Saturday
२०८३ बैशाख ५

यसरी पारित् भयो सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित् हुदाँ बिपक्षमा एक जना प्रदेश सभा सदस्यले मात्रै मतदान गरे । शनिवार राती १० बजे बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको थियो। यसको बिपक्षमा राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी बिष्ट मतदान गरेकी हुन ।

प्रतिपक्ष दल सहभागी नभएर बजेट पारित गर्दा नैतिक प्रश्न उठ्ने भन्दै राती साढे ९ बजेसम्म सुदूरपश्चिम सरकारले प्रतिपक्ष दललाई बैठकमा सहभागी गराउँन धेरै प्रयास गरेको थियो। तर प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सासंद विष्टको सहभागितामा प्रदेश सरकारले बजेट पारित गरेको हो।

शुक्रवारसम्म बजेट संसोधन गर्नुपर्ने माग गरेकी प्रतिपक्ष दल राप्रपाकी सासंद विष्टले भने संसोधन नगरे कुनैपनि हालतमा बजेट पारित गर्न नदिने अडान लिएपनि उनकै सहभागितामा प्रदेश सरकारले शनिवार राती बजेट पारित गरेको छ।

विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने गरेर बैठकमा उपस्थित गराइएको थियो। मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपाकी प्रदेशसभा सदस्य बिष्टलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने सहमति गरेका हुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र स्वतन्त्र प्रदेशसभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक बहिस्कार गरेपछि विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने सहमति गरी बैठकमा उपस्थित गराइएको हो ।

स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेशसभा सदस्य विष्ट र राप्रपाका छत्र शाहीलाई भेटेर समितिको सभापति बनाउने बचन दिएका छन् । समितिको सभापतिका विषयमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिंग्देन र प्रदेश अध्यक्षलाई पनि सहमत गराइएको बताइन्छ ।

बजेटको पक्षमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा प्रदेश सभामा बझाङबाट निर्बाचित पृथ्वी बहादुर सिंहको निधन भएपछि ५२ जना सदस्य छन् । बजेट पास गर्न २७ जना सदस्यको समर्थनको आवश्यकता पथ्र्यो । बजेटको पक्षमा भने सत्तारुढ दलका ३९ जना सदस्यले मतदान गरेका थिए । एमालेका सांसदहरु र स्वतन्त्र सांसद तारा जोशीले बैठक बहिस्कार गरेका थिए ।

आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गत असार १ गते आर्थिक वर्ष २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको राजस्व र व्ययको अनुमान सभासमक्ष प्रस्तुत गरेका थिए।

चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२.७९ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत बजेट विनियोजन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

यसअघि बजेटलाई लिएर सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले पनि असन्तुष्टि जनाएका थिए।

आफूहरूले प्रस्ताव गरेका योजना बजेटमा नपरेको भन्दै सत्तारूढ दलकै सांसदहरू सरकारसँग असन्तुष्ट थिए। प्रदेश सरकारले सासंदहरुलाई मनाउन प्रदेश सभामा बैठक नगरेर मुख्यमन्त्री कार्यालय, संसदीय दल कार्यालय र होटलमा समेत छलफल गरेका थिए।

सरकारले पेस गरेको बजेट संशोधन नभए पास नगर्ने सत्तारूढ तीन दलका सांसदहरूको अडान लिएका थिए। तर, लगातार छलफल भएपछि सत्तापक्षका सासंदहरुले बजेटमा सहमती जनाएका छन्।