April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेकपा माओवादी र एसले बजेटका पक्षमा मतदान गर्ने, एमालेले दर्ता गरायो खर्च कटौतीको प्रस्ताव

धनगढी । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्ने निर्णय गरेका छन् । असार १ गते प्रदेश सरकारले ल्याएको बजेट पारित गर्ने निर्णय आज दुवै दलको संसदीय बैठकले गरेको हो ।

यसअघि असमान ढंगले बजेट आएको भन्दै सुदूरपश्चिममा दलहरुले विरोध गर्दै आएका थिए । सत्तारुढ दलहरुले नै बजेटलाई समर्थन गर्न नसक्ने भनेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।

बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने, प्रदेशसभा सदस्यहरुले छनोट गरेका योजना बजेटमा समावेश गर्ने लगायतका सहमति गरेको थियो ।

त्यसपछि दलहरुले बजेटको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाउन थालेका छन् । सत्तारुढ नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठक पनि जारी रहेको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले भने खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्। शनिबार नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १(क) अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत मन्त्रालयका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि १९ करोड विनियोजन गरेकाले कटौती गर्न माग गरिएको छ । प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गरेको पनि एमालेले प्रस्तावमा उल्लेख गरेको छ।

प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो । तर बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै विरोध गरेपछि अहिलेसम्म पारित हुन सकेको छैन ।

सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्रमा कार्यान्वयन हुने पूर्वाधार विकास कार्यक्रमको ३ करोड बजेट बढाएर ५ करोड पुर्‍याउने सहमति गरेका छन् । त्यस्तै अनावश्यक योजना समेत हटाउने सत्तारुढ गठबन्धनमा सहमति छ ।