April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, बजेटमाथिको छलफल अघि बढाइने

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक आज तीन बजे बस्नेगरी सहमति गरेको हो ।

आजको बैठकमा सबै संसदीय दलका नेता र स्वतन्त्र सांसदलाई बोल्न दिनेगरि कार्य व्यवस्था परामर्श समितिमा छलफल भएको छ । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा अहिलेसम्म प्रदेश सभा बैठकमा छलफल हुन सकेको छैन । आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश सभा दोस्रो अधिवेशनको १६ औंं बैठकमा बजेटमाथिको छलफल अघि बढाइन लागेको छ । प्रदेशका सभामुख भीमबहादुर भण्डारीले आज तीन बजे प्रदेश सभा बैठक आह्वान गरिएको जानकारी दिए । उनले भने –‘प्रदेश सभा बैठक ३ बजे बस्दै छ । बजेटमाथिको छलफल अघि बढाइने कार्यसूचि रहेको छ ।’

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल कार्य व्यवस्था परामर्श समिति छलफल पछि आजदेखि शुरु हुने भएको नेताहरुले बताएका छन्।

प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तापक्ष दल तथा प्रतिपक्षी दलहरुको असन्तुष्टि रहेको छ । बजेट असन्तुलित भएको भन्दै विरोधमा रहेको माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले आजको प्रदेश सभा बैठकमा आफ्नो दलका नेताले धारणा राख्ने नराख्ने भन्ने बिषयमा निर्णय गर्न सकेका छैनन् ।

नेपाली काँग्रेसबाट मुख्यमन्त्री रहेका कमलबहादुर शाहको नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री नेकपा एकीकृत समाजवादी पार्टीका नरेश बहादुर शाही रहेका छन् । तर, उनकै दलले बजेटमाथि असन्तुष्टि व्यक्त गरिरहेका छन् । संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बजेटमाथि सरकारसंग कुनै पनि सहमति नभएको बताए ।

प्रदेशका मुख्यमन्त्री शाहले सत्तापक्ष दलहरुलाई सहमतिमा ल्याउन छुट्टाछुट्टै तथा सामुहिक छलफल गरिरहेका छन् ।