सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि शुरु हुने, यस्तो छ कार्यसूचि

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि शुरु हुने भएको छ । प्रदेश सभा बैठक आज दिउसो ४ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।
साउन १ गतेभित्र बजेट पारित गरिसक्नु पर्ने कानुनी प्रावधान अनुसार सरकारले बजेटमाथिको छलफल भोलीदेखि सुरु गर्ने तयारी गरेको छ । सोमबार विहान बसेको कार्य परामर्श समितिले आज बैठक शुरु गरेपनि बजेटमाथिको छलफल अघि नबढाउने निर्णय गरेको छ ।
प्रदेशका सभामुख भीमबहादुर भण्डारीले ‘कार्य परामर्श समितिको बैठकले आज बस्ने प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पेश गरि पारित गर्ने कार्यसूचि तय भएको बताएका छन् । ‘भोलीदेखि बजेटमाथिको छलफल अघि बढ्ने छ ।’ उनले भने ।
असार १ गते बसेको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । सोही प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए ।
हालसम्म सरकारले प्रदेश सभालाई विजनेस नदिनु र वार्षिक कार्यक्रम (रातो किताव) माथि सत्तापक्ष र प्रतिपक्षी दलहरुको असन्तुष्टिका कारण बैठक सञ्चालन हुन सकेको थिएन् ।
बजेटमा प्रतिपक्षीसँगै सत्ता पक्षमै तीव्र असन्तुष्टि देखिएपछि छलफल सुरु हुन नसकेको हो । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस, आर्थिक मामिला मन्त्रालयको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीभित्रै बजेटप्रति असन्तुष्टि छ ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी पनि बजेटको विरोधमा छ । सत्ता पक्षकै अधिकांश सदस्य विरोधमा भएपछि सरकारलाई बजेटमाथिको छलफल अगाडि बढाउन सकस परेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार दलको बैठक बोलाएर बजेटमाथि सदस्यहरुका धारणा सुनेका थिए । उक्त बैठकमा प्रदेश सभा सदस्यहरुले बजेट असन्तुलित रहेको भन्दै त्यसलाई सन्तुलित बनाएर लैजानुपर्ने धारणा राखेका थिए ।
संसदीय दलको बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । तर बजेटबारे भने कुनै निर्णय नभएको प्रदेश सभा सदस्य बहादुरसिंह थापाले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्