April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ सहित दुई युवक पक्राउ

धनगढी । स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ सहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीबाट स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार) सहित दुुई युवक पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साउँदले पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० जुुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको बताए। उनले धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग नेपालगञ्जमा बुझाइने प्रहरीले जनाएको छ।