April 18, 2026, Saturday
२०८३ बैशाख ५

संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको छ : सांसद बलायर

धनगढी । नेपाली कांग्रेसका नेता एवं सांसद वीरबहादुर बलायरले संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै बलायरले सो कुरा बताएका हुन ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बलायरले हरेक क्षेत्रमा संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको आरोप लगाएका हुन । डोटीका भूकम्पपीडितलाई सरकारले अहिले सम्म राहत तथा क्षतिपूर्ति नदिएको भन्दै बलायरले प्रतिनिधिसभा बैठकमा आक्रोश पोखे ।

‘के देशमा आउने भूकम्प र सुदूरपश्चिममा आउने भूकम्प फरक छ ?,’ बलायरले प्रश्न गर्दै भने, ‘अहिलेसम्म डोटीका भूकम्प पीडितहरुले गएको कात्तिक २२ गते राति २ बजे गएको भूकम्पबाट पीडितहरु घरबारबिहीन छन्। राज्यले त्यसको जवाफदेहिता दिनुपर्दैन ? ’

साथै सांसद बलायरले अन्य ६ प्रदेशका राजधानीहरु बन्दै गर्दा सुदूरपश्चिम प्रदेशको राजधानी नबन्नुको कारणबारे सरकारको जवाफ समेत माग गरे। उनले सुदूरपश्चिम प्रदेश सरकारलाई राजधानी स्थापनाका लागि संघीय सरकारले भोगाधिकार नदिनुको कारणबारे सरकारको जवाफ मागेका हुन्।

‘देशको ६ वटै प्रदेशको राजधानी बन्दै गर्दा सुदूरपश्चिमको राजधानी किन बनेन ?,’ बलायरले प्रश्न गर्दै भने, ‘अहिलेसम्म केन्द्र सरकारले भोगाधीकार किन दिएन यसको स्पष्ट जवाफ चाहिन्छ।’

उनले कैलालीको गेटामा स्थापना भएको मेडिकल कलेजलाई विशवविद्यालय बनाउन तत्काल सम्भव नभएको जिकिर गर्दैै छिटोभन्दा छिटो मेडिकल कलेजका रुपमा स्थापित गरेर सञ्चालन गर्न पनि माग गरे।

‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौ-धौ परिराखेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो र त्यहाँ मेडिकल विश्वविद्यालय (युनिभर्सिटी) खोलेर सञ्चालन गर्न के अहिले नेपालको सामथ्र्य छ ?,’ बलायरले भने, ‘त्यसैले गेटा मेडिकल कलेजलाई छिटोभन्दा छिटो मेडिकल कलेजका रुपमा स्थापित गरेर सञ्चालन गरियोस्।’