April 18, 2026, Saturday
२०८३ बैशाख ५

देशभर आजदेखि ‘खोप सप्ताह’ शुरु, खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाइने

धनगढी । देशभर आजदेखि ‘खोप सप्ताह’ शुरु भएको छ । स्वास्थ्य निर्देशनालय, स्थानीय तहको स्वास्थ्य शाखा लगायतको आयोजनामा खोप सप्ताह शुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीले नियमित तथा कोभिड खोप सम्बन्धी सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै वैशाख ११ गतेदेखि १७ गतेसम्म राष्ट्रिय खोप सप्ताह सुरु गरेको जानकारी दिएको हो।

खोप सप्ताहअन्र्तगत देशभर विभिन्न सचेतनामुलक कार्यक्रम, अभिमुखीकरण, छलफल लगायतका कार्यक्रम गरिने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. जगदिश जोशीले बताएका हुन ।

खोपबाट बचाउन सकिने रोग नियन्त्रण, अपाङता र मृत्युदर कम गर्नका लागि राष्ट्रिय खोप कार्यक्रम सुरु गरेको निर्देशनालयका निर्देशक डा. जोशीले बताए।

सप्ताहकै पूर्वसन्ध्यामा सञ्चारकर्मीहरुसंग निर्देशनालयले अन्तरक्रिया कार्यक्रम गदै निर्देशक डा. जोशीले पछिल्लो समय खोपको पहुँचबाहिर रहने बालबालिकाको संख्या बढ्दै गएको बताएका छन् । उनले बसाईसराई, घरधुरी छुट्नु, खोप सम्वन्धी जानकारी नहुनु लगायतका कारण बालबालिका खोपको पहुँचबाहिर रहेको पाइएको बताए ।

अन्तरक्रिया कार्यक्रममा उनले खोप सप्ताहले बाहिर रहेका बालबालिकालाई पहुँचमा ल्याउन मद्दत पुग्ने बताए । उनले स्थानीय तहका वडामै अहिले घरधुरी सर्वेक्षण तथा पहिचान कार्यक्रम भइरहेको बताए । खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते स्वास्थ्य संस्थामा खोप लगाइने छ। 

राष्ट्रिय खोप सप्ताहमा प्रत्येक वर्ष वडा, स्थानीय तह र जिल्ला सभाबाट पूर्णखोप सुनिश्चितता भएको प्रमाणिकरण, सार्वजनिक र प्रतिवेदन प्रस्तुत गर्ने, खोपबाट बचाउन सकिने रोगको निगरानी र रोकथाम सर्भिलेन्स गरिने निर्देशक डा. जोशीले बताए।

नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो, राष्ट्रिय खोप कार्यक्रम । बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम २०३४ सालबाट ३ वटा जिल्लाबाट सुरु गरिएको थियो । ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ ।

नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गर्नु सुखद देखिन्छ तर ४ प्रतिशत बालबालिका खोप पाउन सकेका छैनन् । नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरु पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा कुनै खोप लगाएका छैनन् । धेरैले ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म बसाइ सराई भएको तथ्यांकले देखाउँछन् ।