सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । उनको आइतबार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा मृत्यु भएको जनाएको हो ।
मुटुको बिरामी समेत रहेकी महिलामा चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगको समस्या रहेकी महिलाको पीसीआर पद्धतिबाट गरिएको नमुना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना गरिएको थियो ।
पछिल्लो केही साता यता सुदूरपश्चिममा कोरोना संक्रमितको वृद्धि हुँदै गएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार पछिल्लो ११ दिनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमुना परीक्षण गरिएको छ ।संक्रमण दर बढेसँगै रोगले हुने मृत्यु दर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
कोरोना संक्रमण दर बढेसँगै ‘एक्टिभ केस’ (सक्रिय बिरामी) पनि बढेका छन् । हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन् । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।





प्रतिकृया दिनुहोस्