April 18, 2026, Saturday
२०८३ बैशाख ५

एसईई परीक्षार्थी चढेको जिप फल्टुडेमा दुर्घटना : १ को मृत्यु, ३ जना घाइते

धनगढी । एसईई परीक्षार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छ । कैलालीको भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडे भन्ने स्थानमा सु.प.प्र. ०१००१ ज १४२३ को जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुपप्र ०१–००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको हो । सोही दुर्घटनामा अन्य चार एसईई परीक्षार्थी पनि घाइते भएका छन् ।

उनीहरु अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रबाट एसइई दिएर घर फर्किँदै थिए । एसईई परीक्षा केन्द्र अत्तरियाबाट फल्टुडे जाँदै गरेको जिप दुर्घटनामा परेको खुलेको छ ।

जिपमा सवार १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीय सरस्वती धामी घाइते भएका छन् । घाइतेहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार हुँदैछ । घाइतेहरू पनि एसइई दिएर फर्किएका हुन् ।

जिप अनियन्त्रित भएपछि चालकले भित्तामा ठोक्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।