April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधानमन्त्री प्रचण्ड धनगढीमा, एमाले सचिव भट्टसंग गरे भेटवार्ता

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी आइपुगेका हुन‍्।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार प्रधानमन्त्री प्रचण्ड तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम प्रदेश आईपुगेका हुन । उनले सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिए ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहनेछ।

विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए । प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रधानमन्त्री प्रचण्ड र एमाले सचिव भट्टबीच भेटवार्ता

महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम पुगेका प्रधानमन्त्री प्रचण्ड र एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड,भट्ट र उनकी श्रीमतीबीच भेटवार्ता भएको हो।

सचिव भट्टले आइतबार बिहान प्रधानमन्त्री दाहाललाई चिया निम्तो दिएको र त्यसलाई स्वीकारगरी अतरियास्थित भट्टको घरमा गएर उनीसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको हो ।

उनीहरूबीच समसामयिक राजनीतिक  तथा पारिवारिक विषयमा छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने,’लेखराजजीको घर मेरै घर हो। उहाँले मलाई एउटा छुट्टै कोठा दिनु भएको छ। हाम्रो ४० वर्षदेखिको सम्बन्ध हो।’

एमाले सचिव भट्टले समसायिक राजनीतिक विषयमा छलफल भएको बताए।  उनले भने,’प्रचण्डजीले भनेजस्तै यो मेरो घर उहाँको पनि हो। हामीबीच लामो सम्बन्ध छ। ‘

सञ्चारकर्मीहरूले तपाईंलाई प्रचण्डले  पुरानै घरमा फर्काउने प्रयास गर्नु भएको होइन त ? भन्दै प्रश्न गरेका थिए। जवाफमा भट्टले भने,’अहिले माओवादीमा फर्किने संभावना छैन।’ भट्ट पूर्वमाओवादी समेत हुन्।

माओवादीमा हुँदा भट्ट प्रचण्डका विश्वासपात्र थिए । भट्ट एमालेतिर लागेपछि उनीहरू दुवैले एकार्काको आलोचना गरेका थिए । यसअघि विमानस्थलमा भेट हुँदा समेत उनीहरू एकापसमा बोलेका थिएनन् ।

प्रधानमन्त्री प्रचण्ड अहिले भट्टको घरमा जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।