April 18, 2026, Saturday
२०८३ बैशाख ५

तलब भत्ताको माग गर्दै आन्दोलित भए धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरू

धनगढी । धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरू आइतबारदेखि आन्दोलित भएका छन् । विगत छ महिनादेखि तलब भत्ता नपाएपछि उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् ।

धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक उपमहानगरपालिका प्रशासन शाखामा हाजिरी गरेर आफ्ना माग पूरा नगरे सम्म हातमा कालो पट्टी बाँधेर दबाबमूलक कार्यक्रम अघि बढाएको बताएका हुन् ।

उनीहरूले माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमूलक कार्यक्रम रहेको जनाएका छन् ।

उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलब भत्ता पाएका छैनन् । विगत ६ महिना देखि सेवा सुविधा नपाउँदा दैनिक जीवनयापन गर्नमा समेत कठिनाइ भइरहेको उनीहरूको भनाई छ ।

उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलब भत्ता रोकिएको एक स्वास्थ्यकर्मिले बताएका छन् ।