April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने

धनगढी । हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने भएको छ । कैलालीका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको औषधी खुवाउने अभियान सुरु हुने भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार औषधी खुवाउने अभियान सञ्चालनको सबै तयारी पूरा भएको छ । जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा ८ लाख ८० हजार ६ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए ।

मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम गर्दै सुदूरपश्चिम प्रदेशका आठ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

कैलालीमा ११ औँ पटक औषधी खुवाउने अभियान सञ्चालन हुन लागेको हो । यसअघि १० वर्षमा १० पटक सञ्चालन गरिएका अभियान प्रभावकारी नदेखिएपछि ११ औँ पटक अभियान सञ्चालन गर्न लागिएको छ ।

सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा भने हात्तीपाइले निवारणको घोषणा भइसकेको छ । सर्वसाधारणले औषधी सेवन नगरिदिँदा कैलालीमा पनि निवारण हुन नसकेको फोकल पर्सन धामीले बताए ।

यो पटक कैलालीमा एघारौं चरणको अभियान सञ्चालन गरिएकोले सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन स्वास्थ्य कार्यालयका फोकल प्रशन तथा हेल्थ असिस्टेन्ट धामीले अनुरोध गरे ।

खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पर्ने बताईएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने उनले जानकारी दिएका छन् ।

दिगो विकास लक्ष्य अनुसार सन २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय संकल्प रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कैलालीसहित झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ र बाँके जिल्लामा यो अभियान संचालन गर्न लागिएको छ ।

स्वास्थ्यकर्मीका अनुसार हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने, धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने र यसले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने भएकाले रोगबाट बच्न औषधी सेवन एकमात्र विकल्प भएको सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए ।

स्वास्थ्य कार्यालयले औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन र औषधी सेवन गर्न आव्हान गरेको छ । कुल जनसंख्याको ६५ प्रतिशतलाई अनिवार्य रुपमा औषधी खुवाउनु पर्ने लक्ष्य रहेको छ ।

हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएकोले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने छ । यस पटक कैलालीमा स्वास्थ्य मापदण्ड अनुसार सम्पुर्ण नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने छ ।