June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

सांसद अरुण चौधरीलाई रिहाको माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै

धनगढी । सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै उच्च अदालत दिपायलमा परेको रिटको आज सुनुवाइ हुँदै छ । कैलाली २ बाट निर्वाचित सांसद चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ हुने भएको हो।

सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो । हिजो उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको हो । आज १ नम्बरमा रहेको उक्त रिटमा सुनुवाइ हुने छ ।

१९ माघमा प्रहरीले बाँकेबाट पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो । सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो । सांसद चौधरी पक्षमा कानुन व्यवसायीहरूले सुनुवाइको मौका समेत नदिई अन्याय पूर्ण फैसला भएको बताएका छन् ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।