April 18, 2026, Saturday
२०८३ बैशाख ५

लागुऔषधसहित धनगढीमा तीनजना पक्राउ

धनगढी । धनगढीबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीबाट लागुऔषधसहित तीनजना पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-९ बाग्राकटानबाट उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय विरेन्द्र कुमाल र १७ वर्षीया करिना राना रहेका छन् ।

उनीहरुलाई दुई ग्राम ५७० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रवक्ता डीएसपी जोशीले जानकारी दिए । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले राति युवा-युवतीलाई नियन्त्रणमा लिएको थियो । त्येस्तै धनगढी उपमहानगरपालिका– २ बस्ने भीमबहादुर कुँवरलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले कुँवरलाई बिहीबार राति बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता जोशीकाअनुसार कुँवरको साथबाट सेतो सुगर जस्तो देखिने एक ग्राम पाँच सय मिलिग्राम लागुऔषध बरामद गरिएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्ककै टोलीका प्रहरी सहायक निरीक्षक चन्द नेतृत्वकै टोलीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।