भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु : एक घाइते, अहिले सम्म २५ घरमा क्षति [अपडेट]

धनगढी। भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु भएको छ। बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर अन्दाजी ३५ वर्षीया जमुना रोकायको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिएका हुन । अहिले सम्म जिल्लामा २५ घरमा क्षति पुगेको विवरण प्राप्त भएको डीएसपी थापाले जानकारी दिए ।
स्थानीय दिलबहादुर थापाका अनुसार रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा जमुना रोकायको मृत्यु भएको हो। यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। गोठ भत्किँदा उनका ४० भेडा पुरिएका छन्।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारभ्मीक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ। बाजुरा, डोटी, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन्। बाजुराकै बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका, हिमाली गाउँपालिकामा दर्जनौं घर चर्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार क्षतिको विस्तृत विवरण आउने क्रम बाँकी छ। ठाउँठाउँमा प्रहरी टोली खटाइएको छ । बझाङका जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका केही घरहरूमा क्षति भएको छ।
सदरमुकामका केही सरकारी कार्यालयका भवन पनि चर्किएका छन्। जिल्ला अस्पताल, सशस्त्र प्रहरी बलको क्याम्प, वडा प्रहरी कार्यालय, जिल्ला कारागारलगायत सरकारी कार्यालयका भवन चर्किएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।





प्रतिकृया दिनुहोस्