April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या, एक गम्भीर घाइते

धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । अर्का एकजना गम्भीर घाइते छन् । प्रहरीका अनुसार जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।