April 18, 2026, Saturday
२०८३ बैशाख ५

युवती हत्या प्रकरण : मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी । माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको जनाएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई बैतडी प्रहरीलाई बुझाइने पन्तले बताए ।

२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।

बुधबार साँझ शिवनाथ गाउँपालिका–६ मालुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।

मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन् । नेहापनि घाँटी रेटिएको अवस्थामा भेटिएकी छन् । गम्भीर अवस्थाकी उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।