June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

श्रीमतीको हत्या गरेर फरार भएका युवक पक्राउ

धनगढी : श्रीमतीको हत्या गरेर फरार भएका युवक पक्राउ परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा युवकले आफ्नी श्रीमतीको हत्यागरी छोरीलाई पनि घाइते बनाई फरार भएका थिए।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरलाई हत्या आरोपमा पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीले आज बिहान घटना घटाइ फरार रहेका मगरलाई गाउँबाट पक्राउ गरेको जनाएको छ। मगरले आफ्नी श्रीमती ललिताको हत्या र आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए।

लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शेरबहादुर बुधबार मात्रै भारतबाट आएका थिए ।