April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको क्षेती : ५ जनाको मृत्यु, १० जना बेपत्ता

धनगढी : बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको क्षेती गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन् । आठजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरका अनुसार शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ६० घरपरिवार विस्थापित भएको छ । उनका अनुसार कुल ९१ घरमा क्षति भए पनि ४२ घर भने पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । ९ घरमा आशिंक क्षति र ४० घर उच्च जोखिममा परेका छन् ।

पूर्ण, आंशिक र जोखिममा समेत गरेर महाकाली नगरपालिकामा ६२ र नौगाड गाउँपालिकामा २९ घर रहेका छन् । बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन् । पहिरोबाट घाइते ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक मगरले बताए ।

प्रहरी निरीक्षक मगरका अनुसार नौगाड गाउँपालिका–२ कि १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

उनीहरुमध्ये चार जना घरमाथिबाट आएको पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका हुन् भने मानमती कार्की भने महाकाली नदीले बगाएको अवस्थामा भेटिएकी हुन् ।

लास्कुमा आएको बाढीमा परेर महाकाली–४ की सरस्वती लुहार र उनका पति मोहन लुहार, महाकाली–३, का धनसिंह कार्की, उनका छोराहरू दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् ।

यस्तै, महाकाली–२ की मानमती शाहू, महाकाली–१ की मन्जु लुहार, दिनेश लुहार, डल्ली लुहार र साजन लुहार बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीमा परी महाकाली–२ का हर्क शाहू, अभिषेक कामी, गीता कामी, रम्भा ठगुन्ना, फागती ठगुन्ना, जयबहादुर ठगुन्ना, देवसिंह ठगुन्ना र वीरे ठगुन्ना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण महाकाली–२ स्थित माइकेश्वरी आधारभूत विद्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । महाकाली–४ स्थित दशरथ आधारभूत विद्यालयको भवनमा आंशिक क्षति पुगेको छ ।

छपारी जाने झोलुंगे पुल र लास्कु खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएको छ । लास्कु खोलानजिकै पार्किङ गरी राखिएका ६ जीप, एक कार, एक ट्याक्टर, एक जेसीबी गरी नौ सवारीसाधन बगेका प्रहरीले जनाएको छ ।

दुई पालिकामा गरी चार पुरुष र ६ महिला गरेर १० जना बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको छ । शनिबार रातिसम्म बेपत्ताहरुको अवस्था पत्ता लगेको छैन । अब आइतबार बिहानैदेखि पुनः खोजी कार्यलाई तिव्रता दिने प्रहरीले जनाएको छ ।