April 18, 2026, Saturday
२०८३ बैशाख ५

फेरिँदै राउटेको जीवनशैली : वन छाडेर बस्तीमा बसोबास, बालबालिकालाई विद्यालय पठाउँदै

धनगढी : बिहान उठ्नेबित्तिकै जंगल पसेर उत्तै दिसापिशाब गर्ने, माछा मार्ने, जनावर मार्ने, गिठ्ठा तरुल खोजेर खाने राउटे समुदायको दिनचर्या अहिले परिवर्तन भएको छ । राउटे समुदायका महिला बिहान उठ्नेबित्तिकै घरको सरसफाइ, बालबालिकाका लागि नास्ता बनाएर विद्यालय पठाउने र खेतबारीमा काम गर्छन् । पुरुषहरू कोही मजदुरी गर्ने, कोही आफ्नै सीपअनुसारको काम गर्ने गर्छन् । कसैले गाउँंमै चियापसल र सानोतिनो व्यवसाय पनि सुरु गरेका छन् । दशकअघिका राउटे र अहिलेका राउटेको जीवनशैली पूरै परिवर्तन भएको छ ।

लहरै चिटिक्क परेका घरघरसंँगै पक्की शौचालय, आंँगन छेउमा पानी धारा, बारीमा लटरम्म फलेको तरकारी बारी छन् । पत्याउन पनि गाहृो हुन्छ चार दशकको अवधिमा राउटेहरू यसरी बस्लान् भनेर । डडेलधुराको परशुराम नगरपालिका आमपानी र रज्यौडामा रहेका दुवै राउटे बस्तीमा आमूल परिवर्तन भएको छ ।

धेरैलाई राउटेहरूको बानी ब्यहोरा देख्दा लाग्थ्यो कुनै दिन रातारात राउटेहरू फेरि गायब हुन सक्छन् भनेर । ०३७ सालमा गाउंँमा पुनर्स्थापित भएका मध्ये केही परिवार यो अवधिमा पुनः जंगल फर्किएका धेरै उदाहरण छन । ‘तर दशकयता राउटेहरूमा परिवर्तन आएको छ । खेतीपाती गर्न थालेका छन । मिहिनेत मजदुरी गरेर खान थालेका छन्,’ स्थानीय अगुवा धर्म बोहरा भन्छन् ।

‘विद्यालय नजाने बालबालिका गाउंँमा भेटिँदैनन्,’ स्थानीय राउटे युवा राजु रजवार भन्छन्, ‘बुबाहरूको पुस्ता परिवर्तन हुन सकेन हामी यहीं जन्म्यौं यहीं हुर्क्यौं जंगली युगको कुरा न हामीले देख्न पायौं न भोग्न पायौं ।’ गाउँसमाजअनुसार हामीले पनि केटाकेटी पढाउनुपर्छ, काम गर्नुपर्छ भन्ने लागेकाले यो परिवर्तन भएको उनले बताए ।

राजुले भने, ‘अहिले त हाम्रो पुस्ताका केही प्रहरीमा भर्ना भएका छन्, कोही सेनामा जान थालेका छन्, गाउँंमा पनि रोजगारी र खेतीपाती पनि गरेका छन् ।’ बुबाबाजेहरू जंगलबाट एक्कासि गाउंँमा ल्याइएका उनले बताए । उनले भने, ‘घर बनाएर, एक हल गोरु किनेर एक बिघा जग्गा दिएर सरकारले गाउंँमा स्थापित त गर्‍यो तर खेतीपाती गर्ने सीप थिएन, समाजले सहज स्विकार पनि गरेन, लामो समय सामाजिक मूलप्रवाहमा समाहित हुनै सकेनन् ।’ समाजले पनि सहज उनीहरूलाई स्वीकार नगरेको गुनासो गर्दै उनले भने, ‘वरु हाम्रो जग्गा विस्तारै कसरी कब्जा गर्ने, राउटेहरूलाई कसरी भगाउने भन्नेमा केही ठूलाठालु लागेका कारण बुबाहरूको पुस्ता परिवर्तन हुन नसकेको हो ।’

स्थानीय बिद्यालयका शिक्षक करवीर बोहराले राउटेको पछिल्लो पुस्ता हुर्केर अभिभावक भएपछि उनीहरूको जीवनशैलीमा आमूल परिवर्तन भएको बताउँछन् । उनका अनुसार जंगलबाट आएको पुस्ता अभिभावक हुँंदासम्म राउटेहरूको जीवन शैलीमा यस्तो परिवर्तन हुन सकेको थिएन । बोहराले भने, ‘केही युवाहरूले विद्यालय शिक्षा लिए । धेरै कुरा थाहा पाए, साथीभाइसंँग हेलमेल भयो, गरेर खानुपर्छ भन्ने कुरा बुझेपछि युवाहरूका कारण यो परिवर्तन सम्भव भएको हो ।’ धेरैजसो संघसंस्था, स्थानीय तहले पनि राउटे युवालाई विभिन्न तालिम दिएको उनी बताउँछन् । उनी भन्छन्, ‘यस्ता तालिम र प्रशिक्षणले पनि राउटेको जीवनशैली परिवर्तनमा ठूलो सहयोग पुगेको छ ।’

राउटेहरू विस्तारै राजनीतिमा पनि लाग्न थालेका छन् । यसपटक एमाले र कांग्रेस दुवै पार्टीले वडा तहमा राउटे समुदायका एक/एक जना उम्मेदवार पनि बनाएका थिए,’ शिक्षक बोहराले भने, ‘जित्न नसके पनि राजनीतिमा प्रवेश हुनु नै उनीहरू परिवर्तन भएको गतिलो उदाहरण हो ।’

हुन पनि पछिल्लो समय राउटेहरू निर्माणका काम, ठेक्कापट्टा, कृषिमजदुरी, काठका मिस्त्री र कोहीकोही त आफ्नै व्यवसायसमेत गरेर बसेका छन् । केही वर्षअघि राउटे अगुवा शान्तिदेवी राउटेले तरकारी खेती सुरु गरेर मनग्य आम्दानी गरेको देखेपछि अहिले अधिकांश राउटे महिला तरकारीखेतीमा पनि लागेका छन् । अधिकांश युवा यसरी परिवर्तन भएपछि जंगलबाट आएको पुस्ताका वृद्धवृद्धा पनि काम गर्न थालेका छन् । ’जंगलवाट आएको पुस्ताका धेरैजसोको मृत्यु भइसकेको छ’ अर्का राउटे युवा हरि रजवार भन्छन्, ‘समयले सबै कुरा सिकाउँदो रहेछ । बुबाआमाले जे गरेर हामीलाई हुर्काए हामीले त्यसरी नै बालबालिका हुर्काउन सक्ने स्थिति पनि रहेन ।’

२०३७ सालमा स्वर्गीय राजा वीरेन्द्रको हुकमप्रमांगीले प्रत्येक राउटे परिवारलाई डडेलधुराको जोगबुढामा एक बिघा जग्गा, घर बनाउन १० हजार र एक हल गोरु दिएर पुनर्स्थापना गरिएको थियो । त्यतिबेला जम्मा ७० परिवार पुनर्स्थापित भएका हुन । स्थानीय शिक्षक करवीर बोहराले भने, ‘पछिल्लो समय दुवै गाउंँमा एक सयभन्दा बढी परिवार छन् ।’ कान्तिपुर दैनिकबाट