बझाङ र कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार नर्वाचित

धनगढी : बझाङ र कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार नर्वाचित भएका छन् । बझाङ र कैलालीमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका हुन ।
बझाङ समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले बताए।
महिला सदस्यमा कांग्रेसकी अस्मितादेवी चदारा, बाटुलीदेवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध भएकी छिन्। खुल्ला सदस्यमा कांग्रेसका गौरीशङ्कर जोशी, टोपबहादुर खड्का, माओवादी केन्द्रका गोरखबहादुर सिंह र दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
त्येस्तै जिल्ला समन्वय समिति कैलालीमा हिजो भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। समितिको प्रमुखमा कांग्रेसका पदमबहादुर कलेलले १३ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाए। उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका छन्। उनले १३ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजेन्द्र खनालले १२ मत पाए।
यस्तै जिल्ला समन्वय समितिको सदस्यमा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, माओवादीबाट दिलु कामी र नागरिक उन्मुक्ति पार्टीबाट सरिता भुल विजयी भएका छन्।
खुल्लातर्फ एमालेका मानबहादुर साउँद र कांग्रेसका तेजबहादुर चन्दको समान १२ मत आएकोमा गोलाप्रथा गर्दा चन्द विजयी भए। यस्तै नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल र माओवादीकी पार्वती बिकको समान मत आएकोमा गोलाप्रथामा सरिता विजयी भइन्।
कैलालीमा सत्ता गठबन्धनअन्तर्गत कांग्रेस, माओवादी र एकीकृत समाजवादीले मिलेर उम्मेदवार उठाएका थिए। सत्ता गठबन्धनको १३ मत भए पनि भ्रष्टाचार मुद्दाका कारण माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएनन्। उपाध्यायले मतदान गर्न नपाउँदा सत्ता गठबन्धनसँग १२ मत मात्रै थियो।
गठबन्धनलाई धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका गोपाल हमालले पनि साथ दिँदा १३ मत पुगेको हो। यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो। ती दुवै पार्टीसँग पनि १२ मत थियो।






प्रतिकृया दिनुहोस्