कैलालीमा एक जना कैदी हतकडीसहित फरार

धनगढी : कैलालीमा एक जना कैदी हतकडीसहित फरार भएका छन् । ईलाका प्रहरी कार्यालय सुखडका अनुसार लागुऔषध मुद्धामा पक्राउ परेका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।
कैलालीको ईलाका प्रहरी कार्यालय सुखडमा लागुऔषध मुद्धामा थुनुवामा रहेका घोडाघोडी नगरपालिका–२,साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेद जोशीले जेठ १८ गते स्वास्थ्य जाँचका लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा त्यहाँबाट फर्कने क्रममा पाण्डे फरार भएको बताएका छन् ।
घोडाघोडी नगरपालिका–२, साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषध मुद्धामा जेठ १४ गते पक्राउ गरी थुनामा राखिएको थियो । दुबैजनालाई स्वास्थ्य जाँचका लागि घोडाघोडी अस्पताल लगिएको थियो, प्रहरी नायव उपरीक्षक बेद जोशीले भने, ‘फर्कने क्रममा कृष्ण पाण्डेय फरार भए ।’ पेटको समस्या देखिएपछि उनीहरुलाई जाँचका लागि अस्पताल लगिएको हो ।
‘कृष्ण र प्रकाशलाई एउटा हतकडी लगाइएको थियो’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘प्रकाशको हातबाट हतकडी फुस्कियो कृष्ण हतकडी सहित भागे ।’ दुबै जनालाई म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको जोशीले बताए । उनले फरार भएका थुनुवाको खोजिका लागि जिल्ला र ईलाका प्रहरीको टोली खटिएको बताए ।





प्रतिकृया दिनुहोस्